r/NepalWrites • u/KeyOk6461 • 16h ago
Poem मेरा याद र उसका याद भेटे भने
खै, के भएको हो?
एकछिन टक्क अडिन्छु,
अनि सोच्छु—
उसलाई होइन,
उसको स्मृतिलाई।
उसलाई त मैले बिर्सेको भनेर
पनि बिर्सिसकेँ।
उसका यादहरू हिँड्छन् रे
त्यो गल्लीमा,
अझै पनि हल्लिँदै।
यताउता कराउँछन् रे मेरा
दिमागका सडकहरूमा।
सायद मलाई खोज्दै होलान् ती
यादहरूले,
बेसहारा जो भएका छन्।
अब मैले पनि हेर्न छोडिसकेँ
उसका यादहरूलाई।
त्यति हुँदा पनि कहिलेकाहीँ
लुकीचोरी जाने गर्छु म,
अँध्यारोमा।
उसका यादहरूलाई हेर्न
टाढाबाट हेर्छु।
चिने जस्तो लाग्छ,
आफ्नै भएर पनि
आफ्ना नभएको जस्तो लाग्छ।
अनि फेरि भाग्छु।
उसका यादहरूले पनि त
मलाई खोज्दा हुन्,
मानिस हराएको सूचना भन्दै।
के कुनै दिन
उसका यादहरूको
र मेरा यादहरूको
फेरि भेट होला?
होस् पनि कसरी?
अब त उसका यादमा
कोही नयाँ आएको छ।
मेरा यादलाई त
देख्नै सक्दिनँ रे।
खोजीखोजी मेरा याद फाल्छु भन्छे रे।
त्यति हुँदा पनि
उसका यादसँग मेरा यादहरूको
भेट भए भने—
उसका यादलाई नसोध्नु,
“कहाँ थियौ?
के गर्दै थियौ?
कोलाई सोच्दै हिँड्छौ?
आजकल कोलाई खोज्दै हिँड्छौ?”
थाकेका छन् दुवैका यादहरू।
एकछिन सँगै बस्नु,
अनि उसका यादलाई
“सधैँका लागि जाऊ,
अब नआऊ,”
भनिदिनू।
किनकि मान्छेहरूले त यहाँ
बिर्सिसके।
अब यादहरूलाई पनि
बिर्सिन दिनू।